one
विज्ञापन

मानव सेवा आश्रमको १४ औँ स्थापना दिवसका अवसरमा आश्रमको दीगो व्यवस्थापन र अभियानमा धरान उपमहानगरपालिकाले पूर्ण साथ दिने प्रतिबद्धता कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । एउटा दियो केवल उज्यालोको प्रतीक मात्र होइन, आशा, करुणा र मानवताप्रतिको अटल विश्वासको प्रतीक पनि हो । मानव सेवा आश्रमको १४ औँ स्थापना दिवसका अवसरमा धरानस्थित आश्रम परिसरमा प्रज्वलित सयौँ दीपहरूले त्यही सन्देश प्रवाह गरे । दीपको उज्यालोसँगै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

कार्यक्रम वैदिक मन्त्रोच्चारणका साथ सुरु भएको थियो । “ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय“ को पवित्र ध्वनिबीच सहभागीहरूले दीप प्रज्वलन गर्दै विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरे। एक मिनेट मौनधारणसँगै गरिएको सामूहिक प्रार्थनाले उपस्थित सबैलाई मानवीय संवेदनाले जोडेको अनुभूति दिलायो ।
मानव सेवा आश्रमको १४ वर्षे यात्राको स्मरण गर्दैे सडकमा सहयोगापेक्षी अवस्थामा पुगेका नागरिकहरूको संरक्षण, उपचार, पुनःस्थापना तथा सम्मानजनक जीवनका लागि आश्रमले निरन्तर निभाउँदै आएको भूमिकाबारे चर्चा गरिएको थियो । आश्रमको यात्रामा साथ दिने दाता, स्वयंसेवक, स्थानीय सरकार तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै विपद् र मानवीय सेवाका प्रत्येक अभियानमा आश्रम समर्पित रहने प्रतिबद्धता गरिएको थियो ।
धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले सडकमा पुगेका मानिसहरूलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मानिसहरू रहरले सडकमा नपुग्ने, कठोर परिस्थिति र बाध्यताले त्यस्तो अवस्था सिर्जना हुने उल्लेख गर्दै त्यस्ता नागरिकलाई पुनः सम्मानजनक जीवन दिन मानव सेवा आश्रमले गरिरहेको सेवा अनुकरणीय रहेको बताउनुभयो । उहाँले वडा कार्यालयको तर्फबाट आश्रमलाई आवश्यक सहयोग, स्रोत–साधन तथा समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले मानव सेवा आश्रमसँगको सहकार्यलाई थप संस्थागत बनाउँदै धरानलाई “सडक सहयोगापेक्षी मानवमुक्त नगर“ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि आवश्यक नीति, कार्यविधि र सहकार्यको प्रक्रिया अघि बढिसकेको छ । उहाँले मानव सेवा आश्रमले गर्दै आएको कार्यलाई केवल सामाजिक सेवा नभई “ईश्वरीय सेवा“ को रूपमा व्याख्या गर्दै विभिन्न परिस्थिति, स्वभाव र पृष्ठभूमिका असहाय नागरिकलाई एउटै छानामुनि आश्रय, उपचार, सरसफाइ र आत्मीयता प्रदान गर्नु असाधारण मानवीय योगदान भएको उल्लेख गर्नुभयो । आश्रमको दीगो व्यवस्थापन र अभियानमा धरान उपमहानगरपालिकाले पूर्ण साथ दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहता, वडा सदस्यहरू, समाजसेवी अशोक अग्रवाल, रियान प्रधान, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरू, सञ्चारकर्मी, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । दीप हातमा लिएर सबै सहभागीहरूले रसुवा बाढीका दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मानवताको सेवामा निरन्तर समर्पित रहने अठोट व्यक्त गरेका थिए ।
चौध वर्षअघि केही सहयोगापेक्षी सडकआश्रित नागरिकलाई सम्मानपूर्वक जीवन दिन सुरु भएको अभियान आज देशव्यापी सामाजिक आन्दोलनका रूपमा विस्तार भइसकेको छ । स्थापना दिवसको अवसरमा गरिएको दीप प्रज्वलन र प्रार्थना सभाले विगतको यात्राको समीक्षा मात्र गरेन, आगामी दिनमा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने राष्ट्रिय अभियानप्रति पुनः प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि बन्यो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन