one
विज्ञापन

बराहक्षेत्र नगरपालिका–१, चतराधाममा निर्माण सम्पन्न भएको ‘श्री दुर्वाशा वैकुण्ठ मोक्ष घाट (स्वर्गद्वारी)’ विधिवत् रूपमा लोकार्पण भएसँगै अन्तिम संस्कार सेवाले नयाँ स्वरूप पाएको छ .....

धरान । पवित्र कौशिकी (सप्तकोशी) नदीको किनारमा अवस्थित बराहक्षेत्र नगरपालिका–१, चतराधाममा निर्माण सम्पन्न भएको ‘श्री दुर्वाशा वैकुण्ठ मोक्ष घाट (स्वर्गद्वारी)’ विधिवत् रूपमा लोकार्पण भएसँगै अन्तिम संस्कार सेवाले नयाँ स्वरूप पाएको छ । धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र आधुनिक पूर्वाधारलाई एकै ठाउँमा जोड्दै निर्माण गरिएको यो घाटले विशेषगरी वर्षायाम र प्रतिकूल मौसममा दाहसंस्कार गर्नुपर्ने परिवारका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

मारवाडी सेवा समिति धरान, बराहक्षेत्र नगरपालिका र बृहत्तर बराहक्षेत्र विकास कोषको संयुक्त सहकार्यमा निर्माण भएको मोक्ष घाटको २०८३ भदौ १ गते भव्य धार्मिक समारोहबीच लोकार्पण गरिएको हो । अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य र बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले वैदिक मन्त्रोच्चारणका बीच संयुक्त रूपमा रिबन काटेर तथा शिलालेख–ताम्रपत्र अनावरण गरी घाटको उद्घाटन गर्नुभएको थियो ।
अन्तिम संस्कार आफैंमा परिवारका लागि अत्यन्त संवेदनशील र पीडादायी क्षण हो। त्यसमाथि वर्षा, बाढी, चर्को घाम वा रातको समयमा आवश्यक सुविधा अभाव हुँदा शोकमा रहेका परिवारले थप कठिनाइ भोग्नुपर्ने अवस्था थियो । यही अवस्थालाई ध्यानमा राख्दै आधुनिक र व्यवस्थित मोक्ष घाट निर्माण गरिएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

बराहक्षेत्रलाई पूर्वी नेपालको प्रमुख धार्मिक, पर्यटकीय तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने नगरको दीर्घकालीन योजनामा व्यवस्थित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । मोक्ष घाट निर्माणमा सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय मारवाडी सेवा समिति धरानको महत्वपूर्ण भूमिका रहेको छ । समितिका अध्यक्ष पितरुमल अग्रवालले चतराधामको पवित्र कौशिकी तटमा यस्तो संरचना निर्माण गर्न पाउनु संस्थाका लागि गौरव र पुण्यको अवसर भएको बताउनुभयो । उहाले पहिलो चरणको काम सकिएपनि दोस्रो चरणमा अझै पूर्वाधारका काम गर्न बाकी रहेको बताउनुभयो ।

नवनिर्मित मोक्ष घाटमा परम्परागत दाहसंस्कार विधिको मर्यादा कायम राख्दै आधुनिक सुविधाहरू समेटिएका छन् । पानी र घामबाट जोगिने गरी ट्रस छानासहितका दुईवटा आधुनिक चिता मञ्च निर्माण गरिएको छ । मलामी तथा आफन्तका लागि फराकिलो प्रतीक्षालय तथा विश्राम कक्षको व्यवस्था गरिएको छ ।
त्यसैगरी स्वच्छ खानेपानी, पर्याप्त धारा, स्नान कक्ष, सरसफाइका आवश्यक संरचना तथा रातिको समयमा समेत सहज रूपमा दाहसंस्कार गर्न सकिने गरी सोलार तथा विद्युतीय फ्लडलाइटको व्यवस्था गरिएको छ । धुवाँ निकासका लागि चिम्नी प्रविधि प्रयोग गरिएको छ भने वातावरणीय सन्तुलन कायम राख्न वरिपरि हरियाली तथा वृक्षारोपणलाई पनि प्राथमिकता दिइएको छ । लोकार्पणपछि स्थानीय समुदायमा उत्साह देखिएको छ । बर्खाको समयमा दाहसंस्कार गर्न हुने कठिनाइ हट्ने, रातको समयमा समेत सुविधा हुने र शोकाकुल परिवारलाई आवश्यक आधारभूत सेवा एउटै स्थानमा उपलब्ध हुने भएकाले यसबाट ठूलो राहत पुग्ने स्थानीयवासीको विश्वास छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन