one
विज्ञापन

यस वर्ष बोलबमको विशेष तिथि भदौ १ गतेसम्म परेपछि धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड देखियो .....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । साउन महिना सकिए पनि शिवभक्तहरूको आस्था भने रोकिएन । पञ्चाङ्गीय गणनाअनुसार यस वर्ष बोलबमको विशेष तिथि भदौ १ गतेसम्म परेपछि धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड देखियो । राति नै यात्रा सुरु गरेका श्रद्धालुहरू चतरास्थित सप्तकोशीबाट पवित्र जल बोकेर खाली खुट्टा पैदल हिँड्दै पिण्डेश्वर आइपुगका थिए।

हरेक वर्ष साउन महिनाभरि सञ्चालन हुने बोलबम यात्रा यसपटक तिथिको संयोगका कारण भदौ १ गतेसम्म लम्बिएको थियो । वराहक्षेत्रको प्राचीन हरिद्वार मानिने चतराबाट करिब १४ किलोमिटरको पदयात्रा गर्दै आएका श्रद्धालुहरूले पिण्डेश्वर महादेवलाई जलार्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरे । बाटोभरि स्थानीय क्लब, सामाजिक संस्था तथा स्वयंसेवकहरूले निःशुल्क खानेपानी, फलफूल र विश्रामको व्यवस्था मिलाएका थिए । सो अवसरमा भक्तजनहरुले आजको सोमबार नागपञ्चमी समेत परेकाले अति उत्तम भएकोले जल चढाउन आएको बताएका थिए ।

सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम लगायत पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार र पश्चिम बंगालबाट समेत भक्तजनहरू पिण्डेश्वर पुगेका थिए ।
पिण्डेश्वर मन्दिरका मूल पुजारी गोकुल पोख्रेलका अनुसार शास्त्रीय पञ्चाङ्गमा महिना र तिथिको गणना फरक–फरक हुने भएकाले यस वर्ष साउन सकिएपछि पनि भदौ १ गते विशेष बोलबम तिथि परेको हो । यही कारण यस दिन जल चढाउनु धार्मिक दृष्टिले अत्यन्त फलदायी मानिन्छ । उहाँका अनुसार पिण्डेश्वर धाम अमृतको पिण्डबाट प्रादुर्भाव भएको शिवलिङ्गका रूपमा पूजिने भएकाले चतराको पवित्र जल अर्पण गर्दा रोगव्याधि नाश हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको अमृतको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको जनविश्वास रहँदै आएको छ । यही विश्वासका कारण साउन र बोलबमका विशेष दिनहरूमा हजारौं श्रद्धालु यहाँ पुगेर जलार्पण गर्ने परम्परा निरन्तर कायम छ । यो हप्तामात्र हैन अर्को हप्ताको सोमबार समेत भक्तजनहरु जल चढाउने अपेक्षा राखिएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

भदौ १ को विशेष तिथिसँगै यस वर्षको बोलबम यात्रा औपचारिक रूपमा सम्पन्न भएको छ । धार्मिक आस्था, अनुशासित पदयात्रा, सामाजिक सेवाभाव र स्थानीय समुदायको सक्रिय सहकार्यले पिण्डेश्वर धाम फेरि एकपटक श्रद्धा र व्यवस्थापनको उत्कृष्ट उदाहरणका रूपमा स्थापित भएको छ । भक्तजनको आगमनमासमेत उल्लेख्य वृद्धि हुदै गएको समितिले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन