one
विज्ञापन

विद्युत नआउँदा जनजीवन नै कष्टकर बनेको भन्दै धरान–११ र १७ का १३ वटा टोल विकास समितिका प्रतिनिधिहरू संयुक्त दबाब समूह बनाएर नेपाल विद्युत प्राधिकरण धरान शाखा पुगे

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरानमा पछिल्लो समय विद्युत आपूर्ति झन्–झन् अविश्वसनीय बन्दै गएको छ । दिनमा पटक–पटक लाइन जाने मात्र होइन, कहिलेकाहीँ रातभरि नै विद्युत अवरुद्ध हुँदा अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी नै प्रभावित हुने गरेको छ । लामो समयदेखि समस्या दोहोरिरहे पनि समाधान नखोजिएको भन्दै धरान–११ र १७ का स्थानीयवासी पुनः नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्र पुगेका छन् ।

बुधबार राति ११ बजेदेखि गएको विद्युत बिहीबार बिहान ९ बजे मात्र आएपछि साकेला टोल विकास समितिकी अध्यक्ष मात्रिका राई रातभर सुत्न सकिनन् । अत्यधिक गर्मीका कारण आफू मात्र होइन, धेरै सर्वसाधारणले सास्ती भोग्नुपरेको उहाँ बताउनुहुन्छ । अनियमित रूपमा लाइन जाने र लामो समयसम्म विद्युत नआउँदा जनजीवन नै कष्टकर बनेको भन्दै उहाँ समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराउन आएको बताउनुहुन्छ ।

उहाँ मात्र होइन, धरान–११ र १७ का १३ वटा टोल विकास समितिका प्रतिनिधिहरू संयुक्त दबाब समूह बनाएर नेपाल विद्युत प्राधिकरण धरान शाखा पुगेका थिए । नियमित विद्युत आपूर्तिको माग गर्दै उनीहरूले कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउनुका साथै समस्या समाधान नभए धर्ना तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने चेतावनी पनि दिएका छन् ।
धरान–१६ स्थित वितरण केन्द्रमा पुगेर उनीहरूले कार्यालय प्रमुख इन्जिनियर कृष्णहरि पोखरेलसँग भेटघाट गर्दै विद्युत आपूर्तिमा देखिएको अनियमितताबारे गम्भीर ध्यानाकर्षण गराएका थिए ।
सामान्य वर्षा वा चट्याङ पर्दासमेत विद्युत सेवा अवरुद्ध हुने गरेको छ । समस्या बुझ्न कार्यालयमा सम्पर्क गर्दा कहिले रुख ढलेको त कहिले चट्याङका कारण लाइनमा समस्या आएको जवाफ पाइने गरेको उनीहरुको भनाइ छ । संयुक्त दबाब समूहका संयोजक उमेश राईले एक वर्षअघि नै समस्या समाधान गर्ने आश्वासन दिइए पनि अवस्था उस्तै रहेको बताउनुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नदेखिएकाले पुनः प्राधिकरणमा पुग्नुपरेको उहाँको भनाइ छ ।

स्थानीयको गुनासो सुनेपछि नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख इन्जिनियर कृष्णहरि पोखरेलले पुराना लाइन र ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा समस्या बढ्दै गएको स्वीकार गर्नुभयो । विद्युतको माग बढ्दै जाँदा पुराना संरचनाले भार थेग्न नसक्दा बारम्बार फल्ट आउने गरेको उहाँले बताउनुभयो । समस्या समाधानका लागि लाइन स्तरोन्नति, ट्रान्सफर्मर क्षमता विस्तार, नियमित मर्मत सम्भार तथा रुखका हाँगा व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ ।

धरानमा विद्युत आपूर्ति अनिश्चित बन्दै जाँदा स्थानीयवासीको असन्तुष्टि पनि बढ्दै गएको छ । गर्मीयाममा पटक–पटकको विद्युत अवरोधले जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले अब समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन