one
विज्ञापन

लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्ट ३२५ सीसँग आबद्ध लायन्स क्लबले ह्विलचियर तथा खाद्यान्न वितरण

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरानमा लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिष्ट्रिक्ट ३२५ सीसँग आबद्ध लायन्स क्लबले ह्विलचियर तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । ‘सेवाका लागि नेतृत्व र नेतृत्वका लागि सेवा’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको उक्त कार्यक्रममा शारीरिक रूपमा अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई सहयोग प्रदान गरिएको हो ।

धरान–१३ स्थित जानकीपथ भृकुटी मार्ग र धरान–११ स्थित सृजना चोकमा सम्पन्न कार्यक्रममा लायन्सका विभिन्न तहका पदाधिकारी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । विशेष गरी हिँडडुल गर्न कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी ह्विलचियर र आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै कीर्तिपुर उद्योग वाणिज्य संघकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यले बिरामी र असहायहरूको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभयो । उहाँले ७२ वर्षीया उर्मा तामाङ जस्ता व्यक्तिहरूको अवस्था देख्दा सेवाभाव अझ सशक्त हुने उल्लेख गर्दै काठमाडौँदेखि सानो सहयोग लिएर आएको र यसले कसैको जीवनमा सहजता ल्याउन सके त्यो नै सफलता हुने धारणा व्यक्त गर्नुभयो । राष्ट्र र नागरिकप्रति आफ्नो दायित्व पूरा गर्न सबै सचेत हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

लायन्स क्लबकी डिष्ट्रिक्ट चिफ सुजाता श्रेष्ठले उर्मा तामाङ र जङ्गबहादुर गुरुङलाई ह्विलचियर तथा खाद्यान्न वितरण गरिएको जानकारी दिँदै सहयोग गर्ने हात र संवेदनशील हृदयको भावना व्यवहारमा उतार्दै संस्था निरन्तर समाजसेवामा सक्रिय रहेको बताउनुभयो । सानो सहयोगले पनि लाभग्राहीहरूको दैनिक जीवनमा ठूलो राहत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रम एकता श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरूले लायन्स क्लबले समाजसेवाका क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन