one
विज्ञापन

मानव सेवाको भावना बोकेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम, मारवाडी सेवा समिति धरान

Article Image
Article Image

मारवाडी समुदायलाई प्रायः व्यापारी र उद्योगीसँग मात्र जोडेर हेर्ने गरिन्छ । तर पछिल्लो समय यही समुदायले व्यापार–व्यवसायसँगै समाजसेवालाई पनि समानान्तर रूपमा अघि बढाउँदै आएको छ । गरिब तथा असहायको सहयोग, धार्मिक मेला–उत्सवमा योगदान, मन्दिर तथा भौतिक संरचना निर्माणदेखि सामाजिक उत्तरदायित्व वहन गर्ने अनेकौँ कार्यमा मारवाडी समुदायको सक्रियता बढ्दो क्रममा देखिन्छ ।
यही सामाजिक उत्तरदायित्वको उदाहरणस्वरूप पछिल्लो पटक मारवाडी सेवा समितिले धरानमा मानव सेवाको भावना बोकेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थानीय बासिन्दाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै समाजमा बढ्दै गइरहेको विभिन्न स्वास्थ्य समस्याको समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
स्वास्थ्य शिविरमा आँखा, दाँत, नाक–कान–घाँटी तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो । शिविरमा आँखा रोग विशेषज्ञ डा. इच्छा जोशी सोनी, दन्त रोग विशेषज्ञ डा. नन्दन श्रेष्ठ, भारतको सिलिगुढीबाट आएका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राहुल, तथा स्त्रीरोग विशेषज्ञ डा. खुस्बुले प्रत्यक्ष रूपमा सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण र परामर्श प्रदान गर्नुभएको थियो ।शिविरमा सहभागी नागरिकहरूको मधुमेह जाँच, उच्च रक्तचाप (बीपी) परीक्षण तथा मुटुसम्बन्धी प्रारम्भिक परीक्षणहरू समेत पूर्ण रूपमा निःशुल्क गरिएको थियो । यसले सर्वसाधारणलाई महँगो स्वास्थ्य सेवाबाट ठूलो राहत मिलेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
जाडो वा गर्मीको मौसममा ज्येष्ठ नागरिकहरू बढी स्वास्थ्य समस्यामा पर्ने भएकाले उनीहरूलाई विशेष प्राथमिकतामा राखेर शिविर आयोजना गरिएको मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षणसँगै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । ब्लड बैंकमा देखिँदै आएको रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा उल्लेखनीय र उत्साहजनक सहभागिता देखिएको थियो ।
अहिले दीर्घरोगीसँगै मुटुरोगीको संख्या बढ्दै गएको अवस्थामा आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवामा पहुँच नभएकाहरूलाई लक्षित गर्दै शिविर आयोजना गरिएको मारवाडी सेवा समितिका प्रतिनिधि तथा कार्यक्रम रामस्वरुप शर्माले जानकारी दिनुभयो । यो कार्यक्रम पूर्ण रूपमा विशुद्ध मानवीय सेवाअन्तर्गत सञ्चालन गरिएको उहाँको भनाइ छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूले रगतको अभावका कारण सट्टाभर्ना खोज्नुपर्ने अवस्था बढ्दै गएको छ । प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले रगतको अभावबारे अनुरोध गरेपछि स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको मारवाडी सेवा समितिका सचिव सन्तोष अग्रवालले जानकारी दिनुभयो ।
सो अवसरमा स्त्रीरोग सम्बन्धी ३० जना, आँखाको समस्या भएकाहरु १३१ जना, दाँतमा समस्या भएकाहरु ८७, कानको समस्या भएकाहरु ७६जना , मधुमेहसम्बन्धी ८९ गरी ४ सय ३ जनाले जनाले निःशुल्क शिविरबाट स्वास्थ्य सेवा पाएका थिए । मारवाडी सेवा समितिका प्रतिनिधिहरूका अनुसार समाजमा स्वास्थ्यप्रति सचेतना बढाउनु, समयमै रोगको पहिचान गर्नु तथा मानवीय सेवामा सबैको सहभागिता सुनिश्चित गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो । समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन