one
विज्ञापन

यस वर्ष खाना महोत्सव औपचारिक रूपमा सुरु हुनुअघि नै पर्यटकको उल्लेखनीय चहलपहल

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धनकुटा जिल्लाको भेडेटारमा प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको खाना महोत्सव यस वर्ष औपचारिक रूपमा सुरु हुनुअघि नै पर्यटकको उल्लेखनीय चहलपहल बढ्न थालेको छ । प्रकृतिको अनुपम उपहार मानिने भेडेटारमा आन्तरिक मात्र होइन, भारतीय पर्यटकको आगमन पनि दिनानुदिन बढ्दै गएको छ ।
साँगुरीगढी गाउँपालिका अन्तर्गत पर्ने भेडेटारमा होटल एसोसिएसन अफ भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष खाना महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको मुख्य उद्देश्य भेडेटारका रमणीय पर्यटकीय स्थलसँगै रैथाने कृषि उत्पादन र जातीय खानपानको प्रवद्र्धन गर्नु हो । तर यस वर्ष भने महोत्सव सुरु हुनुअघि नै पर्यटकको घुइँचो लाग्न थालेपछि भेडेटार थप जीवन्त बनेको छ ।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित भेडेटार अहिले नेपालका विभिन्न जिल्लासँगै भारतबाट आउने पर्यटकले भरिन थालेको छ । धरानको विजयपुरस्थित मठ–मन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार हुँदै तेह्रथुम, संखुवासभा र ताप्लेजुङसम्मको प्राकृतिक यात्रा भारतीय तथा आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
लाहान नगरपालिका–९ का गोराहाङ थारु भेडेटारलाई प्रकृतिले वरदान दिएको सुन्दर स्थल भन्दै एक पटक यहाँ आएपछि बारम्बार आउन मन लाग्ने गन्तव्य भएको बताउनुहुन्छ ।
लाहानकै महेन्द्र ठाकुरले मौसम, हरियाली र प्राकृतिक दृश्यकै कारण भेडेटार पूर्वका अन्य जिल्लामा घुम्न जाने प्रवेशद्वारजस्तै बनेको अनुभव सुनाउनुहुन्छ । यहाँको कृषि उपज र फलफूल पर्यटकका लागि कोशेलीको रूपमा लोकप्रिय भए पनि पर्यटकीय स्थल भएकाले मूल्य केही महँगो हुने गुनासो पनि उनीहरूको छ ।
भारतीय पर्यटकहरू भने यहाँको प्राकृतिक सौन्दर्य, सरल र सकारात्मक सोचका स्थानीय बासिन्दाका कारण भेडेटारको आकर्षण अझ बढेको बताउँछन् । भारतमा आइतबार सार्वजनिक बिदा हुने भएकाले विशेष गरी आइतबारको दिन भेडेटारमा भारतीय पर्यटकको संख्या उल्लेख्य हुने गरेको छ ।
खाना महोत्सवका क्रममा आउने पर्यटकले भेडेटार आसपासका विभिन्न धार्मिक तथा प्राकृतिक गन्तव्यको अवलोकन गर्ने गरेका छन् । तीमध्ये पाथिभरा मन्दिर, शंखेश्वर महादेव मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, थुम्कीस्थित आत्म बस्ने घर, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा र अजंगको वरको रूख प्रमुख आकर्षण हुन् । पछिल्लो समय स्काई वाक पनि पर्यटकको विशेष रोजाइमा परेको छ ।
खाना महोत्सवमार्फत आन्तरिक तथा भारतीय पर्यटक तान्ने उद्देश्य राखिएकोमा हाल भारतको विहार राज्य अन्तर्गत हर्दिया, पूर्णिया, कटिहारलगायत स्थानबाट पर्यटक आउन थालेका छन् । भारतीय पर्यटकको बढ्दो आगमनले भेडेटारको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको स्थानीय बासिन्दा तथा होटल व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन